सामुदायिक विद्यालयको गुणस्तर सुधार्न असल अभ्यास

खैरहनी, भदौ ३० । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न असल अभ्यास आदानप्रदान गरिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति चितवनले खैरहनीमा कार्यक्रम आयोजना गरेको हो । संगठनका जिल्ला अध्यक्ष तेजेन्द्रप्रसाद भुसालका अनुसार प्रत्येक पालिकाबाट एक उत्कृष्ट सामुदायिक विद्यालय छनोट गरी असल अभ्यास आदानप्रदान गरिएको हो ।

चितवनका सात पालिकाका उत्कृष्ट सातवटा विद्यालयका प्रधानाध्यापकहरुले आफ्नो विद्यालयमा सुरू भएका असल अभ्यासलाई प्रस्तुत गरेका थिए । एउटा सामुदायिक विद्यालयको असल अभ्यासलाई अरु विद्यालयले सिको गरुन्, गुणस्तर निकालून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष भुसालले बताए ।

उनले भने, ‘चितवनको समग्र शैक्षिक गुणस्तर बढाउन यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुन्छ ।’ संगठनका उपाध्यक्ष रामजी भण्डारीका अनुसार छनोट भएर उत्कृष्ट भएका सात विद्यालयका प्रअहरुले असल अभ्यासलाई प्रस्तुत गरेका थिए ।

भरतपुर महानगरबाट हिमालय आवि भरतपुर–११, रत्ननगर नगरपालिकाबाट मावि चित्रसारी, माडी नगरपालिकाबाट जनजीवन मावि, इच्छाकामनाबाट राष्ट्रिय आधारभूत विद्यालय मायाटार, राप्तीबाट वीरेन्द्र आदर्श मावि, खैरहनीबाट कंकाली मावि, कालिकाबाट समिपुर माविले आफ्नो विद्यालयका असल अभ्यास प्रस्तुत गरेका संगठनका कोषाध्यक्ष देवप्रसाद पण्डितले बताए ।

कार्यक्रममा हिमालय आवि भरतपुर–११ का प्रधानाध्यापक डिल्लीरमण तिवारीले प्रधानाध्यापक, शिक्षक कर्मचारी तथा अभिभावकको ‘टिमवर्क’ले नै सफल हुन सकिएको बताए ।

कार्यक्रममा जनजीवन मावि माडीकी प्रअ अमृता बरालले विद्यार्थीहरुलाई देवघाटका वृद्धाश्रमहरुमा ल्याएर वृद्ध आमाबुबाको स्याहारसुसार गरेर फर्केको भिडियो प्रस्तुत गर्दा कार्यक्रममा १५० भन्दा बढी शिक्षक तथा प्रअहरु भावुक भएका थिए ।

यस्तै, कालिका नगरपालिका समिपुर माविका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले विद्यालयका शिक्षक तथा कर्मचारीले आफ्नो सन्तान आफ्नै विद्यालयमा पढाउनुपर्ने नियम लगाएको बताए । यस्तै, वीरेन्द्र आदर्श मावि राप्तीका प्रअ सोमनाथ तिवारीले आफ्नो प्रस्तुतिमा सूचना अधिकारी र सहायक सूचना अधिकारी राखिएको बताए । उनले विद्यालयले गुणस्तरका लागि विद्यार्थी, शिक्षक र अभिभावकबीच हस्ताक्षरसहित प्रतिबद्धता गरिएको बताए ।

कार्यक्रममा कंकाली मावि खैरहनीका प्रअ शम्भुशंकर बर्तौलाले शिक्षकलाई प्रविधिमैत्री पठनपाठनका लागि एक शिक्षक एक ल्यापटपको व्यवस्था गरिएको बताए । यस्तै, चित्रसारी मावि रत्ननगरका प्रअ शंकर घिमिरेले विद्यालयमा जङ्क फुड निषेध गरेको बताए ।

राष्ट्रिय आधारभूत विद्यालय मायाटारका प्रअ पदमबहादुर प्रजाले छात्राका लागि प्याड पाइने र जल्ने मेसिन विद्यालयमा राखिएको बताए । कार्यक्रममा पूर्वजिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, चोलेन्द्र पण्डित, शिक्षाविद् रमाकान्त सापकोटा, भरतपुर महानगरका निवर्तमान नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेललगायतले सुझावसहित टिप्पणी गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय कोषाध्यक्ष सूर्य बरालले असल अभ्यास आदानप्रदान कार्यक्रमलाई निरन्तरता दिने बताए । तत्कालीन महानगरका नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले महानगरबाट असल अभ्यास आदानप्रदान कार्यक्रम सुरू गरेका हुन् ।

कार्यक्रममा शिक्षा समन्वय इकाइ प्रमुख भूमिलाल सुवेदीले चितवनको शैक्षिक गुणस्तरबारे चर्चा गरेका थिए । उनले गत एसइई परीक्षामा चितवन जिल्लामा ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका र यस नतिजालाई धेरै नै माथि पुर्‍याउन आवश्यक भएको बताए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.