काठमाडौँ, साउन ७ । बंगलादेशमा बढेको हिंसात्मक प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् । मन्त्रालयले आइतबार मात्रै ४२० जना विद्यार्थी स्वदेश फर्किएको जनाएको छ । जसमा ३०५ जना काकरभिट्टा बोर्डरबाट नेपाल भित्रिएका हुन् ।
परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाएको छ ।
बंगलादेशमै रहेका विद्यार्थीहरुलाई निरन्तर ढाकास्थित नेपाली दुताबासको सम्पर्कमा रहन तथा घरभित्र नै रहन मन्त्रालयले अनुरोध गरेको छ ।
बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ भने इन्टरनेटसहितका सुबिधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ ।