काठमाडौं, असार २८ । प्रतिनिधि सभाको बैठक सुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । तर यस पटक उनले विश्वासको मत पाउने सम्भावना न्यून छ ।
प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए ।
तीमध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परिसकेको छ ।
प्रचण्डलाई साथ दिएका नेकपा एमाले, नागरिक उन्मुक्ति, जसपासहितका दलहरूले साथ छाडिसकेका छन् ।
प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिन लागेका हुन् ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।
दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरिसकेका छन् ।
प्रचण्डले विश्वासको मत नपाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको ढोका खुल्नेछ ।