कालिकाले आगामी आर्थिक वर्षबाट मुख्य बजार क्षेत्रको फोहर उठाउने

चितवन, असार २४ । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षबाट पालिकाका मुख्य बजार क्षेत्रको फोहर उठाउने भएको छ ।

नगरपालिका बनेदेखि नगरपालिकाले संस्थागत रुपमा फोहर उठाएको थिएन । तर, विस्तारै बजार क्षेत्र बढ्दै गएको, जमिनको खण्डीकरण हुँदै जाँदा फोहर व्यवस्थापन असहज हुन थालेपछि नगरपालिको आगामी आर्थिक बर्षबाट फोहर संकलनको काम थाल्ने तयारी गरेको छ ।

नगर क्षेत्रका प्रमुख बजारहरु खोलेसिमल, पदमपुर, क्लवचोक, लाहुरे चोक, शक्तिखोर, जुटपानी जस्ता ठाँउहरु बजारको रुपमा विकास हुन थालेपछि फोहरको संकलन गर्नुपर्ने अवस्था आएको नगर प्रमुख विनोद रेग्मीले बताए ।

उनले पछिल्लो समयमा फोहर व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको बताउँदै नगरका ५६ स्थानमा फोहर व्यवस्थापनका लागि पहिचान गरिएको बताए । आगामी भदौंको दोस्रो सातादेखि फोहर संकलनको काम थाल्ने योजनामा नगरपालिका रहेको नगर प्रमुख रेग्मीले सुनाए ।

फोहर उठाउन मिल्न कतै लगेर राख्ने नमिल्ने जस्तो भएकोले समस्या आएको हो, पर्याप्त जमिन भएको घरको त खासै समस्या हैन तर थोरै जमिन भएका र बजार क्षेत्रमा फोहरको उत्सर्जन बढ्दै गएकोले उठाउनुपर्ने वाध्यता छ,’ नगर प्रमुख रेग्मीले भने, ‘आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि हामीले यसलाई प्राथमिकतामा राखेका छौं ।’

उनले अहिले टोल विकास संस्था तथा बजार व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुमार्फत जनचेतनामूलक कार्यक्रमका साथसाथैं सहयोग र सहकार्यको लागि अगाडि बढ्ने काम भैरहेको बताए ।

‘स्रोतमा नै फोहरको बर्गिकरण गर्ने नीति नगरपालिकाको छ, कुँहिने फोहर उठाउँदैनौ, नहुने र रिसाइक्लिङ्ग हुने मात्रै उठाउँछौं, यसलाई प्रचारात्मक र सचेतनामूलक ढंगबाट जनप्रतिनिधीसहित जनताको बीचमा पुग्छौं’नगर प्रमुख रेग्मीले भने, ‘वन, वातावरण, वन्यजन्तु, मानवलाई असर नगर्ने गरी फोहरको व्यवस्थापन गर्ने सोचका साथ अगाडि बढेका छौं ।’

नगरपालिकाका अहिले दैनिक ३ टन जति फोहर हुने अनुमान गरिएको छ । यो परिमाण बजार बढेसँगै बढ्ने भएकोले दीर्घकालिन सोच राखेर काम गरिने नगर प्रमुख रेग्मीले बताए । उनले निशूल्क रुपमा नभई केही शूल्क लिएर नीजि क्षेत्र वा संघसंस्थामार्फत फोहर संकलनको काम गरिने बताए । फोहरको व्यवस्थापनका लागि पालिकाले ४० लाख जति बजेट विनियोजन गरेको छ ।

नीजि क्षेत्र वा संघसंस्थासँग सम्झौता गर्दा कतिपय पूर्वाधारका काम तथा आवश्यक उपकरणहरु उनीहरुले नै जुगाड गर्ने भएकोले नगरपालिकाको खर्चमा कमी ल्याउने प्रयास गरिने नगर प्रमुख रेग्मीले बताए । नगरपालिकाले स्थानीय बजार व्यवस्थापन समिति र टोल विकास संस्थासँग गरेको अन्तक्रियामा उनीहरूले नगरपालिकाको अभियानलाई साथ दिएर जाने बताए ।

खोलेसिमल बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हरि भण्डारीले लामो समयको दबाब र संघर्षपछि पालिकाले फोहरमैला व्यवस्थापन गर्ने विषयमा चासो देखाएकोमा खुशी व्यक्त गरे । घरवाट निस्किने फोहरमैलालाई वर्गीकरणको आधारमा न्यूनतम शूल्क तिर्न तयार रहेको उनले स्पष्ट पारे। नगरक्षेत्रभित्रका सबै टोल विकास संस्थाहरु एकीकृत नभएका कारण फोहरमैला व्यवस्थापनबारे जनचेतना बाँड्नुपर्ने उनले बताए ।

कालिका–८ स्थित कालिका टोल विकास संस्थाका इन्द्रबहादुर थापाले फोहर व्यवस्थापनमा आफुहरु सहयोग गर्न तयार रहेको बताए । सकेसम्म नगर क्षेत्रभित्र फोहर कम उत्पादन हुने तर्फ जोड दिनेबारे गम्भीर हुन उनले पालिकालाई सुझाव दिए ।

नगर प्रमुख रेग्मीले नगरक्षेत्रभित्रको फोहर संकलन तथा व्यवस्थापनका लागि सफा उर्जा नामको संस्था लगायत अन्य केही कम्पनीहरुले पनि चासो दिइरहेको जानकारी दिए । निकै लामो समयको अध्ययनपछि नगरक्षेत्रभित्रको फोहर संकलन तथा व्यवस्थापनबारे नगरपालिकाले कार्यविधि समेत तयार पारेको उनले बताए ।

फोहर व्यवस्थापनका लागि स्थानीय सामुदायिक वनहरुसँग छलफल गर्दै आएको नगरपालिकाले निकटमै टेन्डर मार्फत फोहर संकलन तथा व्यवस्थापन गर्ने तयारीमा छ । खैरहनी र रत्ननगर नगरक्षेत्रभित्रको फोहर संकलन तथा व्यवस्थापनको जिम्मा लिएको सफा उर्जासंग फोहर संकलनको विषयमा छलफल भइरहेको नगर प्रमुख रेग्मीको भनाइ छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.