रत्ननगर, असार ११ । रत्ननगरका विभिन्न स्थानहरुमा गर्मी याममा चरा चुरुङ्गी र छाडा छोडिएका जनाबरलाई पानी खाने भाँडो राखिएको छ । एनिमल नेपाल चितवनको आयोजनामा रत्ननगरका विभिन्न स्थानमा ५० वटा माटोका भाँडोहरु राखिएको हो ।
रत्ननगरका स्वयम सेवक संयोजक तथा रत्न प्रिय क्लवका अध्यक्ष वसन्त राना मगरले गर्मी मौसममा चुरुङ्गी र छाडा छोडिएका जनाबरलाई पानी खान समस्या हुने तथा अत्याधिक गर्मीका कारण पानी खान नपाएर कतिपय चुरुङ्गी र छाडा चौपाएको मृत्यु समेत हुने गरेको भन्दै उनीहरुको बाँच्न पाउने अधिकार भएकाले रत्ननगरका ५० र नारायणगढ, भरतपुरका १ सय ५० स्थानमा पानी खाने भाँडो राखिएको जानकारी दिए ।
‘‘पानी र आहाराको खोजीमा चरा चुरुङ्गी र छाडा छोडिएका जनाबर भौतारिने भएकाले पानी खाने भाँडो राखेका हौं। पानी प्रसस्त पिउन भएपनि उनीहरुलाई पनि राहत मिल्ने अपेक्षा छ’, राना मगरले भने ।
एनिमल नेपाल चितवनका संयोजक रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रत्ननर वडा नं. १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाले पानी खाने भाँडो अभियानको उद्धघाटन गरे ।
कार्यक्रममा एनिमल नेपाल फिल्ड कोडीनेटर दिपा केसी, रत्ननगरका स्वयम सेवक सदस्य बेद आचार्य, सरस्वती लामा लताएतको सहभागिता रहेको थियो ।