मकवानपुर, असार ७ । बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आगामी वर्षको बजेटलाई सन्तुलित, पारदर्शी र स्थलगत रुपमा बहुवर्षीय योजनालाई निष्पक्ष एवम् दलगत स्वार्थभन्दा माथि उठेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री थपलियाले सरकारद्वारा प्रस्तुत गरिएको आगामी आवको बजेटमा कृषि, उद्योग, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर प्रदेश नीति योजना आयोगको मार्गनिर्देशन र प्रदेशसभा सदस्यहरुको सिफारिसबमोजिम विभिन्न योजना छनौट गरी बजेटको बाँडफाँट गरिएको बताउनुभयो । उहाँले आगामी आवका लागि बजेट प्रस्तुत हुँदा र बजेटको पुस्तिका छाप्ने क्रममा केही प्राविधिक त्रुटि भएको बताउनुभयो ।
आगामी दिनमा त्यस्ता त्रुटि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री थपलियाले बजेटले अब जनताको चाहनाबमोजिम सिफारिस भइआएका पुराना योजनालाई करिब ५० प्रतिशत रकम उपलब्ध गराउँदै लैजानेबारे प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दलबीच सहमति भएको जानकारी दिनुभयो । सोही सहमतिअनुरुप बैठक सञ्चालन भएको उहाँले स्पष्ट पार्नुभयो ।
बैठकमा मन्त्री थपलियाले आगामी आवको सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ प्रस्ताव टेबुल गर्नुभयो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक यही असार ११ गते मङ्गलबार बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो ।
त्यसअघि प्रदेशसभाको आज बसेको पहिलो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथि छलफल सुरु गरियोस् भनी प्रस्ताव टेबल गर्नुभएको थियो ।
सो बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षका नौजना सदस्यले भाग लिनुहुँदै सरकारद्वारा प्रस्तुत गरिएको बजेटमाथि सन्तुलित, पारदर्शी एवम् भूगोलअनुसार दीर्घकालीन रुपमा जनतालाई लाभ पुग्ने आयोजनालाई कार्यान्वयनमा ल्याउन सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।
प्रदेशसभाका सदस्यहरुले कृषिलाई उच्च प्राथमिकता दिँदा किसानले समयमा खाद्यान्न र तरकारीखेती लगाउने क्रममा मल, बीउ उपलब्ध हुन नसक्ने र उनीहरुले उत्पादन गरेको वस्तुलाई बजारको व्यवस्थापन गर्ने रणनीतिगत बजेटमा समावेश गर्नुपर्ने माग गर्नुभयो । उहाँहरुले स्थानीय निकायको सिफारिसअनुसार जनताको मागबमोजिम आएका योजनाहरुलाई सरकारले मनोमानी ढङ्गबाट हटाइएकामा चिन्ता व्यक्त गर्नुहुँदै सरकारले विपन्न नागरिकहरुको स्वास्थ्य उपचारलाई गुणस्तरीय सेवा प्रधान गर्ने प्रादेशिक अस्पताललाई थप जनशक्ति र बजेट उपलब्ध गराउन सुझाव दिनुभयो ।
यसैगरी उहाँहरुले सरकारद्वारा प्रस्तुत गरिएको बजेटको तथ्याङ्कमा आगामी आवको बजेटमा अघिल्लो वर्षको तुलनामा करिब १४ अर्ब रकम बढाई रु ६४ अर्ब ५४ करोड बजेट समावेश हुँदा राजस्वतर्फको असुलीमा निकै घट्नक जाने सम्भावना देखिएकाले सरकारको बजेटले आगामी १ वर्षका लागि काम गर्न नसके असफल हुने चिन्ता व्यक्त गर्नुभयो ।
बजेटलाई आग्रह पूर्वाग्रह भन्दामाथि उठेर जनताका लागि खानेपानी, विद्युतीकरण स्वास्थ्य उपचारका साथै रोजगारीको अवसर दिलाउने प्रत्यक्ष साना घरेलु उद्योग साथै महिला शृङ्गार, धुब, अचार, जुस र पापर उद्योगलाई स्थानीय निकायमार्फत स्रोतसाधन परिचालन गराई जनतालाई आत्मनिर्भर बनाउनेतर्फ गुरुयोजना तर्जुमा गरी बजेट कार्यान्वयनमा ल्याउन सुझाव दिनुभयो ।
यसैगरी, प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा आकर्षणको नारा लेखिएको भए पनि प्रदेशका विभिन्न जिल्लाका विपन्न नागरिकलाई उनीहरुको जीवन सुधार गर्ने वैकल्पिक उपायसहितको गुरुयोजनालाई प्रभावकारी बनाउँदै लैजानुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उक्त छलफल कार्यक्रममा प्रदेशसभा सदस्यहरु क्रमशः डा दिनेशचन्द्र देवकोटा, गिरबहादुर तामाङ, शान्ता ढकाल, प्रभात तामाङ, सृजना सैँजू, मसिना खड्का, सरेन्द्रराज गोरसाईं, उद्धव थापा र सरेन्द्रप्रसाद पौडेल सहभागी हुनुभएको थियो ।
सोही बैठकमा मन्त्री थपलिायले मध्यमकालीन खर्च संरचना आर्थिक वर्ष २०८१/८२ देखि २०८३/८४ सम्म पेस गर्नुभयो । यसैगरी, उहाँले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । बिहीबारदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक आज साँझ ५ बजेदेखि मात्रै सुरु भएको थियो । रासस
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1