रत्ननगर, असार १ । ईलाका प्रहरी कार्यालय टाँडीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई गरेको छ । ईलाका प्रहरी कार्यालय टाँडी रत्ननगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल प्रहरीले सम्पादन गरिरहेका काम कारवाहीहरुको सम्बन्धमा सर्वसाधरण नागरिकलाई सुसुचित गराउने र स्थानीय स्तरबाट राय सुझाव लिई प्रहरी कार्यलाई जनउत्तरदायी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्ष (डिएसपी) डा.हेम के.सी बताए ।
कार्यक्रममा रत्ननगर र कालिका नगरपालिकाका जनप्रतिनिधिहरु, व्यवसायी, स्थानिय सामाजिक अगुवाहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले नदिजन्य पदार्थको दोहनमा प्रहरीको मिलेमतो रहेको, चोरी, लागुऔषधजन्य पदार्थहरुको ओसारपसार र प्रयोग नियन्त्रण गर्न नसकेको, प्रहरीले जनप्रतिनिधिहरुलाई नचिनेको, तस्करसंग साँठगाँठ गरेको लगायतको प्रश्न उठाएका थिए ।
कार्यक्रममा रत्ननगर र कालिका नगरका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति, चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा चितवन प्रहरीको ध्यानाकर्षण गराए ।
कार्यक्रममा कालिकाका विकट क्षेत्रहरुमा प्रहरीको उपस्थिति शुन्य रहेको बताउँदै चोरी, तस्करी, गुण्डागर्दी, लागुपदार्थको ओसारपसार र सेवन अत्याधिक रहेकाले विशेष एक्सन लिन प्रहरीलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा रत्तननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले प्रहरीसँग हातेमालो गरेर नगर विकासमा जोड दिए । उनले समाज सुधार गर्न स्थानिय पनि सचेत र जिम्मेवार हुनुपर्ने बताए ।
कार्यक्रममा उठेका जिज्ञाशाहरुको जवाफ दिंदै चितवन प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) भावेश रिमालले समुदायकै अगुवाईमा समाजलाई शान्त र सुरक्षित बनाउन आफू सदैव तयार रहेको बताए । सार्वजनिक सुनुवाई कार्यक्रमल प्रहरी प्रशासनको गतिविधिलाई सुदृढ गर्ने र पारदर्शिता बढाउने विश्वास एसपी रिमालले जाहेर गरेका थिए ।
उनले रतननगर र कालिका नगर एरियामा सिसिटिभि राखिनुपर्ने स्थानहरुको पहिचान गरि सिसिटिभिको संख्यामा थप गरि निगरानी बढाइने बताए । उनले जनतालाई सहज सेवा प्रवाह गर्नका लागि नागरिकको गुनासोलाई सम्बोधन हुने गरी काम गर्ने बताए । एसपी रिमालले नागरिकको गुनासो सुनेर सुधार गर्ने आश्वासन दिए ।
अपराधिक क्रियाकलाप नियन्त्रण गर्नको लागी चितवन प्रहरीले विशेष योजना बनाएर काम सुरु गरेको उल्लेख गर्दै रिमालले सिमित श्रोतसाधन र जनशक्ति अभावका कारण सोचेजस्तो प्रतिफल आउन नसकेको बताए ।
शान्तिसुरक्षा स्थापनाको लागी प्रहरी मात्र नभएर, जनप्रतिनिधि र समुदायका हरेक तप्का सजक हुनुपर्ने उनको भनाई छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले सहजिकरण गरेका थिए ।
नागरिक सुनुवाई कार्यक्रमले प्रहरी र नागरिकको सम्बन्ध राम्रो हुने भएकाले रत्ननगर टाँडी प्रहरीले प्रत्येक वडमा पुगेर नागरिक सुनुवाई कार्यक्रम मार्फत आएको गुनासो सहितको सल्लाह र सुझावलाई कार्यान्वयन गर्ने जनाएको छ ।