रत्ननगर, जेठ २५ । रत्ननगरका गायक तथा संगीतकार उदय मानन्धरलाई आज रत्ननगरमा सम्मान गरिएको छ ।
रत्ननगर वाङ्मय प्रतिष्ठानद्वारा आज रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित ‘वाङ्मय प्रतिष्ठानको मुखपत्र रत्नाप्रभा विमोचन एवं श्रष्ठा सम्मान कार्यक्रम’ अन्तर्गतको ‘गायन कला सम्मान २०८१’ ले मानन्धरलाई सम्मान गरिएको हो । उनलाई नगद १५ हजार सहित खादा तथा सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालिकाको प्रमुख प्रलाद सापकोटाले सम्मान गरेका हुन् ।
मानन्धर साँढे २ दशक अगाडी देखी रत्ननगरमा संगीत प्रशिक्षण गराउदै आईरहेका कुशल प्रशिक्षक हुन् । भिन्तुना कला केन्द्रको संचालक समेत रहेका मानन्धरको सत्कर्म, ह्याप्पी बर्थ डे, म तिम्रै शहरमा, झी नेवास: नेवास: हे जुई लगायतका गीतहरु बजारमा आईसकेका छन् भने करिब आधा दर्जन गीत बजारमा आउने तयारीमा छन् ।
रत्ननगर वाङ्मय प्रतिष्ठानले आफुलाई गायन कला सम्मान २०८१ ले सम्मान गरेकोमा यो सम्मानले आफुलाई थप जिम्वेवार बनाएको गायक मानन्धरको भनाई छ । भोलिको दिनमा अझै नेपाली भाषा, संस्कृति, कला, साहित्यलाई प्रवर्द्धन हुने गरी प्रस्तुत हुने उनको भनाई छ ।