रत्ननगर, जेठ २४ । सामाजिक उद्यमी महिला सहकारीको नेतृत्व तहमा रहेका महिलाहरुका लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम सुरु भएको छ ।
सामाजिक विकास मन्त्रालय वागमति प्रदेशको आर्थिक सहयोगमा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) ले आयोजना गरेको सो कार्यक्रममा ३३ जनाको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेले सरकारले सहकारीको बर्गीकरण गर्दा अन्यमा राखिएको भन्दै सामाजिक उद्यमी महिला सहकारीलाई भिन्न प्रकृतिको सहकारीको रुपमा बर्गीकरण गर्न माग गरिन ।
सहकारीको मर्म र उद्देश्य अनुसार काम गरेका सामाजिक उद्यमी महिलाहरुलाई अन्यमा राखेर सरकारले विभेद् गरेको उनको आरोप छ ।
सामाजिक उद्यमी महिला सहकारीहरुको पहिचानका लागि सार्थक पहल आवश्यक रहेको भन्दै अध्यक्ष न्यौपानेले त्यसका लागि राष्ट्रिय सहकारी महासंघ र सहकारी संघले नेतृत्वदायी भूमिका निर्बाह गर्ने र त्यसमा सेवा नेपालले सहयोग गर्ने बताइन् ।
सेवा नेपालकी सचिव कल्पना रिमाल सेवा नेपालको परिकल्पना र रणनीतिक योजनालाई सफल बनाउन नेतृत्वतहमा रहेका महिलाहरुको क्षमता विकास तालिम गरिएको बताइन् ।
प्रशिक्षक उत्पादन गर्न तालिम आयोजना गरिएको भन्दै उनले क्रमबद्ध रुपमा नेतृत्व हस्तान्तरणलाई मजबुत बनाइने बताइन् ।
तीन दिन सम्म चल्ने सो तालिममा सेवा नेपालका सहकारी सबलीकरण अधिकृत दीर्घमान पोखरेलले प्रशिक्षक रहेका छन् ।
तालिममा सहकारीले उत्पादन गरेका सामाग्रीको बजारीकरण, नेतृत्व र क्षमता विकासका आधारभूत विषय, प्रभावकारी बैंठकको अबधारणा, अगुवाले समुह संस्थामा खेल्नुपर्ने भूमिका, निर्णय लिने प्रक्रिया र आधारभूत विशेषता, संस्थाका पदाधिकारीको काम कर्तब्य र अधिकार, नेतृत्व प्रभावकारी बनाउन अपनाउनुपर्ने रणनीति, नेतृत्वको अबधारण, अगुवामा हुनुपर्ने गुणहरु लगायतका विषयमा तालिम प्रदान गरिने सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले जानकारी दिइन् ।
तालिममा क्रममा समुहगत छलफल र अनुभव आदानप्रदान समेत गरिने उनले जानकारी दिइन् ।
तालिममा चितवन सहित नुवाकोट, धादिङ, काठमाडौंका सामाजिक उद्यमी महिला सहकारीमा नेतृत्वतहमा रहेका महिलाहरु सहभागी छन् ।