गोरखा, बैशाख १२ । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको ९ वर्ष भएको छ ।
७.८ म्याग्निच्यूटको भुकम्पले करिव ९ हजार मानिसको ज्यान लिएको थियो भने गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति भएको थियो ।
करिव १५ सय भन्दा बढि घरघुरी, अधिकांश मानिसहरु बेलायती सेना र भारतीय सेनामा कार्यरत, मानिस नै अलमल पर्ने बाक्लो बस्ती, ढुङ्गाले छाएको घर, बाटोभरि ढुंगा विछ्याइको सुन्दर गाउँको रुपमा परिचित बारपाक २०७२ सालको भूकम्पपछि भने फेरिएको छ ।
मौलिकता मासिएको छ, परिचय फेरिएको छ, भुकम्पको केन्द्रविन्दु बारपाक । आजभोली बारपाक घुम्न विभिन्न जिल्ला र विभिन्न देशबाट मानिसहरू पुग्ने गर्दछन् ।
सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटलहरु खुलेकाले बारपाक पर्यटकका लागि घुम्ने नयाँ गन्तव्य बनेको छ । परम्परागत ढुंगाले छाइएको घरको सट्टा आधुनिक र पक्की घरहरु निर्माण गरिएको छ । ढुंगा छापिएका बाटो मोटर बाटोमा परिणत भएका छन् ।
९ वर्ष अगाडि भूकम्पले मानसिक र शारीरिक रुपमा पुर्याएको घाउका टाटाहरु मात्र बाकी छन् बारपाकबासीको मनमा, दैनिकी सामान्य बन्दै गएको छ ।