रत्ननगर, बैशाख ९ । चितवनको रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएको छ ।
कार्यपालिकाको बैशाख ९ गतेको निर्णय र नगर शिक्षा ऐन २०७४ संशोधन सहितको दफा १६ को उपदफा ५ बमोजिम संस्थागत विद्यालयहरुले भर्ना शुल्क नलिन नगरपालिकाले नगर भित्रका संस्थागत विद्यालयलाई पत्राचार गरेको हो ।
कुनै कक्षामा भर्ना शुल्क लिई सकेपछि पुनः सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्नको लागि शुल्क लिन नपाउने ऐनमा उल्लेख रहेका र उक्त ऐन पूर्णरुपमा लागू गराउन लागिएको नगर प्रमुख प्रलाद सापकोटाले बताए ।
नगर शिक्षा ऐन २०७४ र संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका २०७२ को दफा १४.१(२) ले समेत कक्षाको मासिक शुल्कको एक महिनाको शुल्क बराबर हुनेगरी एक पटक मात्र भर्ना शुल्क लिने व्यवस्था गरेकोमा विद्यालयमा एक पटक भर्ना शुल्क तिरी भर्ना भएको विद्यार्थीलाई पुनः सोही विद्यालयमा भर्ना हुँदा शुल्क लिन नपाईने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए ।