रत्ननगर, चैत्र २१ । सामाजिक उद्यमी महिला सञ्जाल (सेवा) नेपालको भवन निर्माण गर्दा भएको आयव्याय सार्बजनिक तथा सामाजिक परीक्षण गरिएको छ ।
रत्ननगर वडा नं १२ चिसापानीमा निर्माण सुरु गरिएको भवनको एक तला निर्माण गर्न स्थानीय सरकारले प्रदान गरेको बजेट मध्येको खर्च सार्वजनिक तथा सामाजिक परीक्षण गरिएको हो । सो संस्थाको भवन निर्माणको लागि रत्ननगर नगरपालिकाले १० लाख र वडा कार्यालयले एक लाख रुपैया प्रदान गरेको थियो ।
स्थानीय सरकारले दिएको रकमबाट भएका कामहरु जनप्रतिनिधिको रोहबरमा सार्वजनिक गरिएको सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले जानकारी दिइन् ।
स्थानीय सरकारले प्रदान गरेको रकमबाट भवनको बाहिरी भाग प्लाष्टर, पेटी निर्माण, ६ वटा बाथरुमको भूई ढलान, प्लाष्टर, टायल लगाउने, आवश्यक सेनेटरी सामाग्री जडानको काम गरिएको कार्यकारी निर्देशक नेपालले जानकारी दिइन् ।
सेवा नेपालले रत्ननगरमा १ करोड ७० लाखको लगानीमा तालिम स्रोत केन्द्र भवन निर्माण गरिरहेको छ । पहिलो तला निर्माणको काम सम्पन्न भएको र त्यसका लागि हेफर इन्टरनेशनल नेपालले प्रदान गरेको ३१ लाख, सेवा नेपालले आन्तरिक कोषबाट १२ लाख र स्थानीय सरकारको ११ लाख गरी करिब ५८ लाख रुपैया खर्च भएको केही रकम भूक्तानी गर्न बाँकी रहेको सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेले जानकारी दिइन् ।
सामाजिक उद्यमी सहकारीमा आबद्ध महिलाहरुलाई केन्द्रीय स्तरको तालिम, प्रशिक्षण तथा सभासम्मेलन सञ्चालन गर्न सक्ने गरी रत्ननगरमा बहुउपयोगी भवन निर्माण सुरु गरिएको अध्यक्ष न्यौपानेले बताइन् ।
सेवा नेपालले जग्गा खरिद गरी साढे दुई तले भवन निर्माण सुरु गरेको हो । रत्ननगर नगरपालिका वडा नं १२ का कार्यबहाक वडाध्यक्ष किसान बजगाई प्रमुख अतिथि रहेको आउव्याय सार्वजनिक तथा सामाजिक परीक्षण कार्यक्रममा वडा सचिव शंकरबहादुर गिरी, भवन निर्माण समितिकी कोषाध्यक्ष दुर्गा बराल, शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी कोषाध्यक्ष सीतादेवी चापागाईँ लगायतको सहभागिता रहेको थियो ।