चितवन, फागुन १५ । नेपाल मगर विद्यार्थी संघ चितवनले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा उपाध्यक्ष प्रीज्मा आलेमगरको समूह प्रथम भएको छ । मङ्गलबार नेपाल मगर संघको ४२औँ स्थापना दिवसको अवसरमा नारायणगढमा भएको हाजिरीजवाफ प्रतियोगितामा उपाध्यक्षको समूहले प्रथम स्थान हासिल गर्दै नगद एक हजार राशिसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेको छ ।
यस्तै सहसचिव एलएक्स पेमीमगरको समूहले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । अध्यक्ष मिलन पाटामगरको समूहले तृतीय र सचिव प्रतिक थापामगरको समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । मगर विद्यार्थी संघ चितवनको वर्तमान कार्यसमितिभित्रको पदाधिकारी पदमा रहेका व्यक्तिहरुको समूह बनाइ हाजिरीजवाफ खेलाइएको विद्यार्थी संघका सल्लाहकार ईश्वर रानामगरले जानकारी दिए ।
पाँच वटा समूहमा प्रतिसमूह पाँच/पाँच जनालाई सहभागी गराइएको थियो । विद्यार्थीहरूलाई मगर जाति र समुदायसँग सम्बन्धित विगत र वर्तमानबारे जानकारी गराउने उद्देश्यले मगर दिवसकै अवसरमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
हाजिरीजवाफ हुनुपूर्व शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा नेपाल मगर संघका इकाइ, जिल्ला, प्रदेश तथा केन्द्रका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।