सकियो सौराहा फुड फेस्टिबल : पर्यटन प्रबर्द्धनमा फेस्टिबल सफल

सौराहा, फागुन ४ । चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको १८औं सौराहा फुड फेस्टिबल विहीबारराती सकिएको छ ।

प्रणय दिवसको अबसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाले फेस्टिबल आयोजना गरेको थियो । पाँच दिन सम्म सञ्चालन भएको सो फेस्टिबल पर्यटन प्रबर्द्बनका हिसाव सफल भएको रेवान सौराहाका अध्यक्ष ध्रुुव गिरीले जानकारी दिए ।

फेस्टिवलको करिब ३० हजार पर्यटकले अबलोकन गरेका छन् । चार दिन प्रवेश शुल्क निस्शुल्क गरेको रेवानले प्रणय दिवसको दिन फागुन २ गते मात्र प्रवेश शुल्क लिएको थियो । सो दिन १२ हजार बढीले फेस्टिबल अबलोकन गरेको अध्यक्ष गिरीले बताए ।

सौराहाका व्यवसायीले मुनाफा आर्जन गर्नु भन्दा पनि सौराहामा पर्यटक भित्र्याउन हरेक बर्ष फेस्टिबल गर्दै आएका छन् । एक दिन लगाइएको प्रवेश शुल्क बापत भएको आम्दानी सौराहाको सौन्दर्यकणका लागि खर्च गर्ने योजना रहेको अध्यक्ष गिरीले बताए ।

फेस्टिबल अन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम, स्वादिष्ट खानाका परिकार र विभिन्न प्रतियोगिता गरिएको कार्यक्रम संयोजक सुर्यबहादुर रिमालले बताए ।

समापन कार्यक्रममा वेटर रेस, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता र म्युजिकल चियर प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार तथा फेस्टिबल सफल बनाउन सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा रक्तक्यान्सरबाट पीडित व्यवसायी राजन तामाङकी धर्मपत्नीको उपचारको लागि रेवान सौराहाले १५ हजार र सपना भिलेज सोसल इम्प्याक्टले १५ हजार आर्थिक सहयोग गरेका थिए । त्यसैगरी फेस्टिबलमा रहेका होटल तथा रेष्टुरेन्टका स्टलहरु मध्ये तीन वटालाई उत्कृष्ट छनौट गरिएको छ । छनौट प्रतियोगितामा होटल आईकावा प्रथम, केसी रेष्टुरेन्ट द्धितीय र होली लज तृतीय हुँदै नगद पुरस्कार प्राप्त गरेका छन् ।

सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको हो ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिए ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.