रत्ननगर, मंसिर १५ । पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौडा उपमहानगरपालिकाले जितेको छ ।
नेपाल माविको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा चितवनको राप्ती नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै हेटौडाले उपाधि रक्षा गरेको हो । प्रतियोगिताको विजेता हेटौडा उपमहानगरपालिकाको टिमलाई रु २ लाख ११ हजार १११ र उपविजेता राप्ती नगरपालिकाको टिमलाई रु १ लाख ५१ हजार १११ सहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि हेटौडाकी मेयर मीना लामा, रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठकले विजेता र उपविजेता टिमलाई उपाधि हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको हेर्न राप्तीका मेयर शमशेर लामा र वडाध्यक्षहरु, कालिका नगरपालिकाका मेयर विनोद रेग्मी, हेटौडा उपमहानगरका वडाध्यक्षहरु, चितवन निकुञ्जका वार्डेन गणेश पन्त, रत्ननगरका डिएसपी रन्जन अवा पुगेका थिए ।
हेटौडाकी मेयर लामाले खेलाडीहरुलाई प्रोत्सहान र सीप विकासको लागि रत्ननगरले आयोजना गरेको मेयर कपको विशिष्ट महत्व रहेको बताइन् । उनले हेटौडाले एक वडा एक खेलमैदानको अबधारण अघि पारेको बताइन् । उद्यमशिलता विकास र बालमैत्री नगर घोषणालाई प्राथमिकता दिएर पालिकाले काम गरिरहेको उनको भनाई छ ।
सो अबसरमा रत्ननगरका मेयर प्रलाद सापकोटाले खेलकुदको विकास र खेलकुदको माध्यमबाट पालिकाहरु बीच सहकार्य स्थापित गर्न मेयर कप आयोजना गरिएको बताए ।
राप्तीका मेयर लामाले रत्ननगरले आयोजना गरेको मेयर कपले बागमती प्रदेशकै खेलकुदको विकासमा योगदान दिएको बताए ।
रत्ननगर खेलकुद विकास समितिका अध्यक्ष कृष्ण महतोको अध्यक्षतामा भएको समापन कार्यक्रममा रत्ननगरका कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद बाग्लेले स्वागत मन्तव्य राखेका थिए ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा चितवनका सात, मकवानपुरका दुई र नवलपरासीको एउटा पालिका १० वटा टिमले प्रतिस्पर्धा गरेको खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।