रत्ननगर, मंसिर ९ । पूर्वी चितवनको रत्ननगरमा विहीबारदेखि सुरु भएको दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा हेटौड उपमहानगरपालिका विजयी भएको छ ।
माडी नगरपालिकालाई १-६ गोल अन्तरले पराजित गरि हेटौडा उपमहानगर विजयी भएको हो । प्रतियोगितामा हेटौडाका विजय दोङ म्यानअफ दी म्याच घोषित भएका छन् ।
भोली सोमबार राप्ती नगरपालिका र कालिका नगरपालिका बीचल खेल हुने आयोजकले जनाएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगीता आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए ।
नेपाल माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा चितवनका सात, कमवानपुरका दुई र नवलपरासीको एउटा पालिका १० वटा टिमले सहभागिता जनाएको खेलकुल विकास समितिका संयोजक चौधरीले जानकारी दिए । खेलकुद क्षेत्रको विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयरकप आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ११ हजार १११, द्वितिय हुने टिमलाई १ लाख ५१ हजार १११ सहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिने नगर स्तरीय खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।
प्रतियोगितामा प्लेयर अफ द म्याच घोषित हुने खेलाडीलाई २ हजार ५०० र प्लेयर अफ द टुर्नामेन्ट घोषित हुने खेलाडीलाई १० हजार ५०० प्रदान गरिने उनले जानकारी दिए ।