रत्ननगर । चितवनमा पालिका स्तरबाट उत्पादन हुने फोहोरको दीगो व्यवस्थापनको लागि देशकै ठुलो प्रशोधन उद्योग(सामग्री पुनः उपयोग केन्द्र) सञ्चालनमा ल्याइएको छ ।
सम्भवत निजी लगानीबाट सञ्चालित देशको ठुलो फोहोर प्रशोधन उद्योग रहेको दावी गरिएको छ ।
सफा उर्जा उत्पादन प्रा.लिले चितवनको खैरहनी नगरपालिका वडा नं ४ चैनपुरमा नमुना मोडलको रुपमा व्यवस्थित प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो ।
फोहोर व्यवस्थापनको विषय देशव्यापी रुपमा पालिकाका जनप्रतिनिधिलाई टाउको दुखाईको विषय बनिरहेको अबस्थामा यसको दीर्घकालिन सामधानको लागि निजी क्षेत्रले प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो ।
खैरहनी नगरपालिकामा उत्पादन हुने फोहोर संकलन र व्यवस्थापनको काम गरेको सफा उर्जाले रत्ननगर नगरपालिकालाई समेत जोडेको छ ।
पूर्वी चितवनमा फोहोर व्यवस्थापनको समस्या निराकरण गर्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याइएको सफा उर्जाका निर्देशक निर्णय पौडेलले बताए ।
डेढ बर्ष अघि देखि चितवनमा सुरु गरेको फोहोर प्रशोधनको कामलाई देशका ७५३ वटै स्थानीय तहहरुले चासोको रुपमा हेरिरहेका छन् ।
देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाले समेत चितवनमा सफा उर्जाले फोहोर प्रशोधनको सञ्चालनमा ल्याएको उद्योगको अबलोकन गरेको छ ।
महानगरपालिको वाताबरण व्यवस्थापन विभागको टोलीले सफा उर्जाले सञ्चालन गरेको फोहोर प्रशोधन उद्योगले गरिरहेको कामको अबलोकन गरेर फर्किएको छ ।
काठमाडौं महानगरपालिकाका बरिष्ठ शाखा अधिकृत सानुमैया महर्जन, मेकानिकल इन्जिनियर विजय तुलाधर, वाताबरण निरीक्षक सृष्टि श्रेष्ठ, सिभिल इन्जिनियर उद्धबराज नेपाल र कर्मचारी महेश शाक्यले प्रशोधन उद्योगको अबलोकन तथा निरीक्षण गरेर फर्किएको हो ।
महानगरको टोलीले कारखानामा सुख्खा तथा जैविक फोहोर प्रसोधन मेसिन तथा प्रबिधिहरूको अवलोकन गरेको थियो ।
खैरहनी र रत्ननगर नगरपालिकाको सहजीकरणमा सुरु गरिएको देशकै ठूलो तथा पहिलो प्रशोधन उद्योगले विपन्न तथा सीमान्तकृत समुदायका ११५ लाई रोजगारी प्रदान गरेको छ ।
प्रशोधन उद्योग सञ्चालनमा खैरहनी नगरपालिकाको महत्वपूर्ण भूमिका तथा रत्ननगर नगरपालिकाको साथ रहेको निर्देशक पौडेलले बताए । महानगरपालिकोको टोलीले चितवनमा बैज्ञानिक ढंगबाट भइरहेको फोहोर व्यवस्थापन र प्रशोधनको कामको प्रशंसा गरेको थियो ।
सफा उर्जाका प्रतिनिधि रोशन केसीले महानगरको टोलीलाई उद्योग स्थापना गर्नुको उद्देश्य सहित उद्योगले गरिरहेको कार्यप्रगति र भावि योजनाको विषयमा जानकारी गराएका थिए ।
स्रोतमै फोहोरको बर्गीकरणको काम सुरु गरेर सफा उर्जाले फोहोर व्यवस्थापनमा नयाँ कामको सुरुवात गरेको छ । तरकारी तथा फलफुलबाट सफा प्राङ्गारिक मल उत्पादन गरी बजारमा पठाउन सुरु गरिएको छ ।
सिसाजन्य बस्तुको धुलोबाट भौतिक संरचना निर्माणमा प्रयोग हुने ब्लक, कपडाजन्य बस्तुबाट कपास बनाउन सुरु गरिएको पौडेलले बताए ।
उद्योगबाट उत्पादित जैविक मलको प्रयोग गरी सयपत्री फुलको खेती गरेको सफा उर्जाले प्याज र लसुनको व्यवसायिक खेत गर्ने तयारी गरेको छ ।