म्याड्रिड, कार्तिक १८ । स्पेनको भ्यालेन्सियामा आएको बाढीका कारण शनिबार निर्धारित भ्यालेन्सिया र रियल म्याड्रिडको स्पेनिस ला लिगाको खेल रोकिएको छ।
शनिबार नै निर्धारित भिल्लारियल र रायो भल्कानोको खेलसमेत स्थगित भएको छ। यसै साताका अन्य तीन खेल पनि नहुने जनाइएको छ।
बाढीकै कारण प्रभावित खेलमा भ्यालेन्सिया क्षेत्रमा कुनै पनि खेल नगर्न स्पेनिस फुटबल संघले नै सूचना जारी गरेको छ।
शनिबार ला लिगमा २ खेल सम्पन्न भए। गिरोनाले लेगानासलाई ४–३ ले तथा ओसासुनाले भालाडोलिडलाई १–० ले हराए। ओसासुनालाई जित दिलाउने क्रममा १९ औँ मिनेटमा बुडिमिरले निर्णायक गोल गरे।
ओसासुना १२ खेलमा २१ अङ्कसहित तालिकाको चौंथो स्थानमा छ। बार्सिलोना ११ खेलमा ३० अङ्कसहित शीर्ष स्थानमा छ। ११ खेलमा रियल म्याड्रिडको २४ तथा ११ खेलमै भिल्लारियलको २१ अङ्क छ। भिल्लारियल तालिकाको तेस्रो स्थानमा छ। एजेन्सी