सौराहा, फागुन १३ । पूर्वी सेक्टरका युवालाई संरक्षण सम्बन्धी क्षमता अभिवृद्धि दिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति कसरा चितवनको आयोजना तथा मृगकुञ्ज उपभोक्ता समितिले संयोजन गरेको कार्यक्रममा पूर्वी सेक्टर अन्तर्गत मध्यवर्ती क्षेत्रको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण इकाई (CBAPU) का पदाधिकारीहरूलाई एकदिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ । चितवनको सौराहामा आयोजित प्रशिक्षणमा ७७ जना युवाको सहभागिता थियो ।
तालिममा चार वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिअन्तर्गतका चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवाको सहभागिता रहेको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण इकाई (CBAPU) का अध्यक्ष वसन्त राना मगरले जानकारी दिए ।
उनले वन र वन्यजन्तु संरक्षणका लागि युवालाई सूचना सङ्कलन, जनचेतना, वन्यजन्तुको आनिबानी लगायतका विषयमा प्रशिक्षित गरिएको बताए । उनका अनुसार संरक्षणमा यसअघि प्रयोग भएका विधि र अबका दिनमा गर्नुपर्ने कामका विषयमा प्रशिक्षण दिइएको छ ।
सहभागीलाई सैद्धान्तिक कक्षासँगै प्रयोगात्मक प्रशिक्षण पनि प्रदान गरिएको सौराहा सेक्टर प्रमुख तथा लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मान वहादुर स्याङ्बोले जानकारी दिए ।
मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण, मानिसको व्यवहार परिवर्तनका विषयमा पनि युवालाई जानकारी गराइएको छ । प्रशिक्षणमा सहभागी युवाले आफ्नो गाउँठाउँमा गएर त्यहाँका युवालाई समेत प्रशिक्षण दिनेछन् । प्रभावित क्षेत्र, महिला समूह, सामुदायिक वन, युवालगायतका समाजमा रहेका हरेक नागरिकलाई प्रशिक्षण लिएका युवा आफूले सिकेको ज्ञान प्रदान गर्ने उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले र नेपाली सेनाका प्रतिनिधिले प्रशिक्षण दिएका थिए ।
सौराहा सेक्टर प्रमुख तथा लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष स्याङ्बोको अध्यक्षतामा भएको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा प्रकृती संरक्षण शिक्षालय कसराका प्रमुख सेनानी अनुप सिंह बस्नेत, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरे, प्रमुख मध्यवर्ती शाखा तथा संरक्षण अधिकृत चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका अभिनाश थापा, रत्ननगर वडा नं. ६ का वडा अध्यक्ष किरण महतो, ५ का वडा अध्यक्ष बालकृष्ण चापागाई, वडा नं. ८ का वडा सदस्य विष्णु आचार्य, राप्ती वडा नं. ६ का वडा अध्यक्ष जल्लु महतो थारु, खैरहनी वडा नं. १० का वडा अध्यक्ष चन्द्र विक्रम चौधरी, खगेन्द्रमल्ली उपभोक्ता समितिका अध्यक्ष नमराज पाठक, बुढीराप्ती मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष हिरा वहादुर गुरुङ, संरक्षण अधिकृत तथा सौराहा सेक्टर प्रमुख शान्त वहादुर राना मगर, राष्ट्रिय प्रकृति संरक्षणकोष जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ रेञ्जर ऋषि सुवेदी, तराई भू परिधि कार्यक्रमका क्लष्टर ईन्चार्ज प्रेम पौडेल, डब्लु डब्लु एफका कार्यक्रम अशोसियट निशान्त केसी लगाएतको सहभागिता रहेको थियो ।