सौराहा, फागुन १ । चितवनको पर्यटकीय नगरी सौराहामा जारी सौराहा फूड फेष्टिबलमा आज (बिहीवार) फागुन १ गते पनि राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । फूड फेष्टिबलमा आज कलाकारहरु समिक्षा अधिकारी, खुमन अधिकारी, विन्दा परियार लगायतका कलाकारको प्रस्तुती रहने रेवान सौराहाका महासचिव नविन नेपालले जानकारी दिए ।
त्यस्तै, आज रत्ननगर कला मन्दिरका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने छन् भने स्थानीय कलाकारको लोकदोहोरी चल्ने उनले बताए ।
फूड फेष्टिबल अन्तर्गत प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता पनि जारी छ । उक्त प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ ।
प्रणय दिवसको अवसरमा सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा (रेवान) को आयोजनामा १९औँ संस्करणको सौराहा फूड फेष्टिबल भएको हो ।
प्रणय दिवसको अवसर पारेर हरेक वर्ष सौराहामा फूड फेष्टिबल हुँदै आएको छ । चितवनको पर्यटन विकासको लागि फेस्टिबल आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
“प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” लाई आत्मसाथ गर्दै सौराहा स्थित पर्यटक बसपार्क जाने बाटोको उत्तर तर्फको खाली जग्गामा फेस्टिवल भइरहेको छ । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृतिरभेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फूड फेष्टिबल आयोजना गरिएको अध्यक्ष गिरीले बताए ।
फेष्टिबलको प्रभावका कारण पर्यटकीय नगरी सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत पर्यटक बृद्धि हुने उनले बताए । फागुन ३ गते सम्म चल्ने फेस्टिबलमा बहुल जातजातीहरुको झाँकीका साथै सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुती, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर र वेटरेस बीच प्रतियोगिता, तान डोरी प्रतियोगिता, रक्तदान, ब्याटमिन्टन प्रतियोगिता भइरहेको फेष्टिबलका संयोजक शम्भूप्रसाद मालीले जानकारी दिए ।
९० लाख खर्च हुने अनुमान गरिएको फेष्टिबल अबधिभर सौराहा क्षेत्र भित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोड रुपैयाँसम्म कारोबार हुने अपेक्षा गरिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समुह, क्षेत्रीय होटल संघ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिबल अबधिभर सौराहाका व्यसायीहरुले आवास र खानामा १० प्रतिशत छुट सुविधा दिएका छन् ।