चितवन । १५ औं संस्करणको चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढ स्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुती’ मुल नारा दिएर पुष २५ बाट सुरु भएको महोत्वको विहीवार साँझ समापन गरिएको हो ।
संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा र बन तथा बातावरण मन्त्री कृष्ण सिलवालको उपस्थितिमा विहीवार साँझ समापन गरिएको हो ।
महोत्सव मुल समिति संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको समापन गर्दै महोत्सव ऐतिहासिकरुपमा सफल भएको बताए ।
महोत्सव अवधिभर ५ लाख जनाले सहभागिता जनाएको र ३० करोड बराबरको कारोबार भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । लक्ष्य अनुसार कै सहभागिता र कारोबार भएको भन्दै अध्यक्ष श्रेष्ठले समापन समारोहमा खुसी व्यक्त गर्दै महोत्सव सफल पार्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यावद ज्ञापन गरे ।
अवलोकनकर्ताहरुको चाप र महोत्सव परिसरभित्र निर्माण गरिएका र आयोजना गरिएका प्रबद्र्धनात्मक क्रियाकलापहरुमा अवलोकन कर्ताहरुको जुन चासो र भिडभाड देखियो यसले आयोजकलाई रोमाञ्चित बनाएको र आगामी दिनहरुमा पनि यस किसिमका महोत्सवहरु आयोजना गर्नका लागि थप उत्साहित बनाएको श्रेष्ठ बताउँछन् ।
महोत्सवमा रोजगार मेला, हार्डवयर्स एक्सपो, मह परिसर, अटो परिसर, रेष्टुरेन्ट परिसर, फन पार्क, चाईना एक्सपो, लघु, घरेलु परिसर, कृषि परिसर लगायत ४३० स्टलहरु रहेका थिए । बिगतका १४ वटा महोत्सवहरुलाई तुलना गर्दा यस पटकको महोत्सव पृथक बनेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
महोत्सव अवलोकनकर्ता र प्रदर्शकबाट संकलन गरेको पृष्ठपोषण फर्मलाई अध्ययन गर्दा करिव ९० प्रतिशत अवलोकनकर्ताहरु महोत्सवमा भएका क्रियाकलापहरुबाट पूर्ण सन्तुष्टि भएको पाइएको श्रेष्ठले जानकारी गराए ।
चितवनवासीको महान पर्वका रुपमा स्थापित भइसकेको यो महोत्सवको माध्यमबाट उद्योग व्यवसायको प्रवद्र्धन, कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातीहरुको परम्परा, रितिरिवाज र भेषभुषाहरुको जर्गेना हुनुका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उर्जा सूचना प्रविधि र पूर्वाधार लगायतका क्षेत्रहरुको विकासका संभावनाहरुको पनि उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको महसुश भएको श्रेष्ठ बताउँछन् । यद्यपि यस किसिमका महोत्सवलाई आगामि दिनहरुमा अझ बढी प्रभावकारी र समयानुकुल परिवर्तन गर्दै लैजानुपर्ने आवश्यकता रहेको उनले औंल्याए
।स्वागत मन्तव्य राखेका थिए भने उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।
महोत्सवको समापन समारोहमा महोत्सवमा उत्कृष्ट प्रदर्शक, उवासंघका पूर्व अध्यक्ष, महोत्सव मुल समिति भित्रका उत्कृष्ट कार्यसम्पादन गर्ने उपसमिति संयोजकहरुलाई सम्मान समेत गरिएको थियो ।