काठमाडौं । पछिल्लो समय नेपाली र भारतीय निर्माताबीच फिल्म निर्माणमा संयुक्त लगानी गर्ने क्रम बढ्दो छ । ‘प्रेमगीत ३’ यसको पछिल्लो उदाहरण थियो । अब भने नेपालको डीएस डिजिटल र भारतीय वितरकबीच फिल्म ‘परस्त्री’मा सहकार्य हुँदैछ ।
यो फिल्म आगामी असार १५ गते नेपालसहित विश्वबजारमा रिलिज गर्ने तयारी छ । भारतमा हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी छ । आगामी साता निर्देशक तथा निर्माता सुरज पाण्डेले भारतीय वितरण अधिकार बिक्रीका लागि पीभीआरसँग छलफल गर्दैछन् ।
यसैबीच, ‘परस्त्री’को पार्श्व गायनमा बलिउड गायक-गायिका जोडिएका छन् । हिन्दी संगीतकर्मीहरु अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जवालाले फिल्ममा एक–एक गीत गाएका छन् । उनीहरुले गीत रेकर्ड गरिसकेका छन् । नेपाली संस्करणमा प्रयोग भएको गीतलाई हिन्दीमा अनुदित गरेर विनित र सोनलले गीत लेखेका हुन् ।
भारतीय गायक-गायिकाको लागि आठ लाख भारु पारिश्रमिक खर्च भएको निर्देशक पाण्डेले जानकारी दिए । यही फिल्मबाट निर्देशकको रुपमा डेब्यु गरेका पाण्डेले फिल्मलाई विश्वभर एकैसाथ प्रदर्शनको तयारी भइरहेको जानकारी दिए । गत साता रिलिज भएको फिल्मको पोस्टरले चर्चा बटुलेको छ । फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्रीको शीर्ष भूमिका छ ।
‘इरोटिक रोमान्स’ जनरामा निर्माण भएको यो फिल्मले विवाहेत्तर सम्बन्धको कथा पेश गर्छ । फिल्मलाई नेपालमा १०० र भारतमा ५०० भन्दा बढी पर्दामा प्रदर्शनको तयारी भइरहेको निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन् । डीएस डिजिटलले फिल्म निर्माण गरेको हो ।